०७ असार , कलैया :.बारा जिल्लाको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह पिपरपातीस्थित बन्द रहेको छोटी भन्सार पुनः सञ्चालनका लागि भारतको बिहार राज्यमा रहेका विभिन्न मन्त्रीहरूसँग विशेष छलफलमा व्यस्त भएका छन्।शनिबार भारतको राजधानी पटना पुग्नुभएका नगर प्रमुख सिंहले बिहार सरकारका ग्रामीण विकास विभागका वरिष्ठ मन्त्री श्रवण कुमार, सूचना तथा प्रविधि मन्त्री कृष्णा कुमार मन्टु र समाजवादी नेता मनीष कुमार बर्मासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।
छलफलका क्रममा दुई देशबीचको धार्मिक, सांस्कृतिक, व्यापारिक तथा पारिवारिक ‘बेटी-रोटी’ सम्बन्धलाई अझ मजबुत बनाउँदै लामो समयदेखि बन्द रहेको पिपरपाती छोटी भन्सार पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिइएको सिंहले जानकारी दिए। नगर प्रमुख सिंहका अनुसार भन्सार पुनः सञ्चालन नहुँदा सीमावर्ती क्षेत्रका वैकल्पिक नाकाबाट अवैध रुपमा आयात–निर्यात बढिरहेको छ, जसले नेपाल सरकारको राजस्वमा ठूलो क्षति पुगेको छ। साथै स्थानीय व्यापारीहरूको कारोबार चौपट भइरहेकाले नगरपालिकाको आर्थिक गतिविधि नै प्रभावित हुन थालेको गुनासोसमेत राखिएको थियो।
छलफलमा सहभागी बिहारका नेताहरूले पिपरपाती छोटी भन्सार पुनः सञ्चालनका लागि सकारात्मक पहल सुरु गरिने आश्वासन दिएका छन्। नगर प्रमुख सिंहले यस विषयमा नेपाल सरकारको सम्बन्धित निकायसँग पनि समन्वय गरी छोटो समयमा परिणाममुखी पहल गरिने स्पष्ट पारेका छन्। नेपाल–भारत सीमावर्ती क्षेत्रमा अवस्थित पिपरपाती छोटी भन्सार अघिल्लो केही वर्षदेखि बन्द रहेको छ। भन्सार पुनः सञ्चालनका लागि स्थानीय तह, राजनीतिक दल, व्यापारी संघलगायतले पटक–पटक माग गर्दै आएका थिए।