०६ भदौं, कलैया : रक्तदान गरौं, जीवन बचाऔं” भन्ने मूल नारासहित ब्रह्माकुमारीज समाज सेवा प्रभागको आयोजनामा शुक्रबारदेखि देशका विभिन्न शहरहरूमा रक्तदान अभियान सुरु भएको छ। विश्व बन्धुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्यतिथि स्मरणमा सञ्चालन भइरहेको यस अभियानअन्तर्गत बाराको सिमरा र बरियारपुरमा उल्लेखनीय संख्यामा रक्तदाताहरुले रक्तदान गरेका छन्।महागढीमाई नगरपालिकाको प्रांगणमा ओम शान्ति राजयोग उपसेवा केन्द्र बरियारपुर र नगरपालिकाको सहआयोजनामा सम्पन्न कार्यक्रममा १८ महिला र ८९ पुरुषसहित १०७ जनाले रक्तदान गरेका छन्। त्यस्तै, राजयोग उपसेवा केन्द्र सिमराले आयोजना गरेको कार्यक्रममा ११ महिला र १०३ पुरुषसहित ११४ जनाले रक्तदान गरेका छन्।
बरियारपुरको कार्यक्रममा राजयोग सेवा केन्द्र कलैयाकी सञ्चालिका राजयोगिनी मिना दिदीको सभाध्यक्षता रहेको थियो भने महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव प्रमुख अतिथ्यता रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख उपेन्द्र यादवले अस्वस्थकर खानेकुरा र कृषिमा अत्यधिक रासायनिक मल प्रयोगकै कारण मानिसमा विभिन्न रोग बढिरहेको बताए। उनले अर्गानिक खेतीलाई प्राथमिकतामा दिनुपर्नेमा जोड दिए। त्यसैगरी प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले ओम शान्तिको पहलमा देशव्यापी रक्तदान अभियान सुरु भएकाले रक्तअभावलाई कम गर्न यसले महत्त्वपूर्ण योगदान पुर्याउने बताए।

उनका अनुसार, विशेष गरी कलैया ब्लड बैंकमा रगतको अभाव न्यूनीकरणमा यो अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ। शनिबार कलैया, कोल्हवी, वीरगञ्ज, चन्द्रनिगाहपुर र गौर सेवा केन्द्रमा समेत रक्तदान शिविर सञ्चालन हुने जानकारी राजयोग सेवा केन्द्र कलैयाकी सुष्मा वहनले दिइन्। यसै अवसरमा शुक्रबार बिहान कलैयामा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र र समाज सेवा प्रभागले प्रभातफेरीको आयोजना गरेको थियो। कार्यक्रममा समर्पित भाई–बहन, दिदीहरूसँगै स्थानीय शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।