०६ भदौं,कलैया : फेरी भेटौला कार्यक्रमका अवसरमा कलैया प्रादेशिक अस्पतालमा डा. आकास गुप्तालाई बिदाई तथा डा. गौतम कुमार यादवलाई स्वागत गरिएको छ । कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री प्रकाश चौगाईको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चौगाईले अस्पतालको सेवा–प्रवाहलाई थप प्रभावकारी बनाउन चिकित्सकहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले डा. गुप्ताले कार्यकालमा देखाउनुभएको समर्पण र सेवाप्रति अस्पताल व्यवस्थापन समितिको कृतज्ञता व्यक्त गर्दै भविष्यका लागि सफलताको शुभकामना दिनुभयो । साथै, नयाँ जिम्मेवारीसँगै अस्पतालमा प्रवेश गर्नुभएका डा. यादवलाई स्वागत गर्दै उहाँले अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवामा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गर्नुभयो ।यसै अवसरमा स्वागत मन्तव्य दिँदै डा. गौतम कुमार यादवले अस्पतालमा आफूलाई दिइएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित चिकित्सक तथा अधिकृतहरूले समेत आफ्ना विचार राख्दै निरन्तर रूपमा अस्पताललाई गुणस्तरीय र सहज सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका थिए ।

