०६ भदौं ,कलैया : बारा जिल्ला क्रिकेट संघलाई नेशनल इन्फोटेक कलेज, वीरगञ्जले प्रायोजन गर्ने भएको छ। शुक्रवार विशेष समारोहका बीच कलेजका डाइरेक्टर मनिष सिंह र बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात चौरसियाबीच ‘साइनिङ सेरोमनीमा प्रयोजनको सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । कार्यक्रममा संघको नयाँ जर्सी सार्वजनिक गरिनुका साथै टिमका कप्तान अनिल साहलाई जर्सी हस्तान्तरण गरिएको थियो। प्रायोजन सम्झौतामा हस्ताक्षर गर्दै नेशनल इन्फोटेक कलेजका डाइरेक्टर मनिष सिंहले भने, “स्थानीय प्रतिभा र खेलाडीलाई प्रोत्साहन गर्नु हाम्रो सामाजिक दायित्व हो।
यस प्रायोजनले बारा क्रिकेटलाई नयाँ ऊर्जा दिने विश्वास लिएका छौँ।” त्यस्तै, बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात चौरसियाले कलेजप्रति आभार प्रकट गर्दै भने, “क्रिकेट संघलाई प्रायोजनले ठूलो बल मिलेको छ। यसले खेलाडीहरूलाई अझै उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्नेछ।” टिमका कप्तान अनिल साहले प्रायोजनलाई ऐतिहासिक कदम भन्दै खेलाडीहरूको मनोबल बढाउने बताए। सो अवसरमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पवन अग्रवाल, विनोद दास, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुभास जयसवाल लगायतको उपस्थिति रहेको थियो।

