११ भदौं,कलैया : बाराको कलैया उपमहानगरपालिकामा एक जनामा हैजा संक्रमण पुष्टि भएको छ। प्रादेशिक अस्पतालमा उपचाररत कलैया–१८, पतौराका एक पुरुषमा हालै हैजा संक्रमण देखिएको अस्पतालका प्रमुख डा. अजय कुमार गुप्ताले जानकारी दिएका छन्। यसको रोकथाम तथा नियन्त्रणका लागि कलैया उपमहानगरपालिकाले स्थानीय बासिन्दालाई सचेत बनाउने सन्देश जारी गरेको छ। उपमहानगरपालिकाले सबै नागरिकलाई उमालेर वा शुद्धीकरण गरेर मात्र पानी पिउन, नियमित हात धुने, व्यक्तिगत र घर वरिपरिको सरसफाइमा ध्यान दिने जस्ता सावधानी अपनाउन सुझाएको छ।
प्रादेशिक अस्पतालले पनि बिरामीलाई प्रारम्भिक उपचारसहित, सुरक्षित खानेपानी, सरसफाइ र उचित खानपिनमा ध्यान दिन स्थानीयलाई आग्रह गरेको छ। स्वास्थ्यकर्मीले संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा नआउन र लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था सम्पर्क गर्न चेतावनी दिएका छन्। कलैया उपमहानगरपालिकाले यसै सन्दर्भमा वडास्तरमा स्वास्थ्य टोली परिचालन गरी घर–घर सचेतना अभियान सुरु गर्ने तयारी गरेको छ।

