११ भदौं,कलैया : बाराका परवानीपुर गाउँपालिकाले हैजा रोग नियन्त्रण तथा रोकथामका लागि जनचेतनामूलक अभियान सञ्चालन गरेको छ। अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अगुवाइमा गाउँपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र स्वयंसेवक टोलीले वडास्तरमा र्याली निकाल्दै स्थानीय बासिन्दालाई हैजा सम्बन्धी सचेतना दिने काम गरिरहेका छन्। अभियानको उद्देश्य बासिन्दालाई सुरक्षित पानी पिउन, व्यक्तिगत र सामूहिक सरसफाइमा ध्यान दिन र खानपिनमा सतर्कता अपनाउन प्रेरित गर्नु हो।
प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारका अनुसार, अभियानले गाउँमा सकारात्मक प्रभाव पारेको छ र बासिन्दाको स्वास्थ्य सचेतना बढाउने कार्यमा महत्वपूर्ण योगदान दिनेछ। अभियानअन्तर्गत टोलीले घर–घर पुगेर पानी उमालेर पिउन, फिल्टर गरिएको पानी प्रयोग गर्न, शौचालय र पानीको दूरी कायम गर्न, हात धुने र वरिपरिको सरसफाइमा ध्यान दिन जस्ता सन्देशहरू दिइरहेका छन्।गाउँपालिकाले आगामी दिनमा विद्यालय, स्वास्थ्य संस्था र समुदायसँग सहकार्य गरी यस किसिमका सचेतनामूलक कार्यक्रमलाई अझ व्यापक बनाउने योजना बनाएको छ।

