११ भदौ। रौतहट : माधव नारायण नगरपालिका–६ निवासी रुबी साहको हत्या अभियुक्त लक्ष्मण पासवानको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार आत्मदाह प्रयासपछि पक्राउ परेका पासवानलाई उपचारका लागि कीर्तिपुर पठाइएको थियो।गत ७ गते गौर–मुढवलवा सडक खण्डमा सूटकेसमा राखिएको रुबी साहको शव फेला परेको थियो। त्यसपछि प्रहरीले पासवानलाई खोजी गरिरहेको अवस्थामा बुधबार माधोपुर पश्चिमतर्फ मानपुर जाने बाटोछेउ आमबगैंचामा पेट्रोल छर्की आत्मदाहको प्रयास गरिरहेका बेला नियन्त्रणमा लिएको थियो।
अनुहारसहित शरीरको ठूलो भाग जलेका कारण उनलाई प्रारम्भिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएकोमा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।आत्मदाह प्रयास गर्नु अघि पासवानले नौ मिनेट लामो भिडियो सार्वजनिक गरेका थिए। भिडियोमा उनले रुबी साहको घाँटी थिचेर हत्या गरेको स्वीकार गर्दै रुबीकी आमा र अन्य आफन्तले पैसाको धाक देखाएर आफूलाई बाँच्न नदिएको आरोप लगाएका थिए।
पासवान र साहबीच लामो समयदेखि प्रेमसम्बन्ध रहेको खुलेको छ। उनीहरू बाल्यकालदेखि नै एउटै विद्यालयमा पढेका थिए। २०६७ सालतिर उनीहरूले अन्तरजातीय विवाह गरे पनि माईती पक्षको अस्वीकारका कारण उनीहरू अलग भएका थिए। जाहेरीका आधारमा पासवान चार वर्ष जेल जीवन बिताएर निस्किएपछि रोजगारीका लागि विदेश आवतजावत गर्दै आएका थिए।
त्यसपछि रुबी साहको विवाह भारतको बिहार राज्यमा गराइएको थियो र उनका एक छोरा पनि जन्मिएका छन्। पछिल्ला वर्षहरूमा भने रुबी गौरमा डेरा गरी बस्दै आएकी थिइन्। पासवानले पनि त्यहीँ डेरा लिएर बस्दै आएका थिए। सोही क्रममा आफ्नै डेरामा भेटघाटका क्रममा रुबीलाई हत्या गरेको उनले भिडियोमार्फत् स्वीकार गरेका थिए।

