१५ भदौं, सिमरा : बाराको सिमरामा आइतबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा सप्तरीको बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डित र रौतहटको गुजरा नगरपालिका–७ परसवाका २५ वर्षीय रोशन चौधरी रहेका छन्। सोही दुर्घटनामा परेर रौतहटकै ३४ वर्षीय भुपेन्द्र चौधरी घाइते भएका छन्। इलाका प्रहरी कार्यालय सिमराका अनुसार वीरगञ्ज–पथलैया सडकखण्डमा सिमराबाट पथलैयातर्फ जाँदै गरेको बा ९० प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रोशन चौधरीको प्रादेशिक अस्पताल कलैयामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनीसँगै सवार भुपेन्द्र चौधरीको दाहिने हात र बायाँ खुट्टामा चोट लागेको छ र उनको परवानिपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै अर्को मोटरसाइकल चालक महेश पण्डितको पनि टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो। उपचारका लागि एलएस न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।