१५ भदौं , कलैया : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले नेकपा (एमाले) को सदस्यता यस वर्ष असार १४ गते नै नवीकरण गरिसकेको खुलासा गरेकी छन्। आइतबार बाराको सदरमुकाम कलैयामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीभित्र आफ्नो राजनीतिक आस्थाबारे फैलिएका भ्रमलाई खण्डन गर्दै एमालेमै मजबुत रहेको प्रष्ट पारेकी हुन्। कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले भनिन्, “म पार्टीलाई छोडेको छैन, सदस्यता नवीकरण असारमै गरिसकेको छु। केही ठाउँमा गलत बुझाइ वा गलत प्रचार भएको हो।”
उनले हालसालै पार्टीले जारी गरेको भनिएको परिपत्रबारे पनि शंका व्यक्त गर्दै त्यो आधिकारिक नभएको स्पष्ट पारिन्। “त्यस्तो हल्लामा म विश्वास गर्दिनँ,” उनले भनिन्। कलैयामा मदन भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले कार्यकर्ताहरूसँग एमाले संस्थापक नेता स्वर्गीय मदन भण्डारीको विचारलाई व्यवहारमा उतार्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिइन्। सोही अवसरमा मदन भण्डारी फाउन्डेशन बारा जिल्ला कमिटीले बाराको देवताल गाउँपालिका–३ निवासी शम्भु प्रसाद यादवकी चार छोरीलाई सम्मान गरेको थियो।
सरकारी सेवामा उल्लेखनीय योगदान दिएकी चारै छोरीमध्ये पूजा यादव स्थानीय तह अधिकृत (छैटौँ तह), कविता र पल्लवी यादव संघीय खरिदार र गुन्जा यादव प्राथमिक तहकी शिक्षिका पदमा कार्यरत छन्। उनीहरूको मेहनत र उपलब्धिलाई कदर गर्दै पूर्व राष्ट्रपति भण्डारीले विशेष सम्मान गरेको फाउन्डेशनले जनाएको छ।शनिबार भण्डारी वीरगञ्ज र कलैयामा हुने कार्यक्रममा सहभागी हुन मधेश प्रदेश आएकी थिइन्। वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा आयोजित ‘महिला सम्मेलन–२०८२’ मा सहभागी हुन आउने क्रममा सिमरा विमानस्थलमा उनलाई एमाले कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए। कार्यकर्ताहरूले ५१ किलोको माला अर्पण गरेपछि उनी निकै भावुक बनेकी थिइन्।