कार्तिक २० कलैया : जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा बिहीबार पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा हालसालै बारा जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जिल्लाका सञ्चारकर्मीहरूसँग भेट गर्दै जिल्लाको समग्र अवस्था, चुनौती र आगामी कार्यदिशाबारे छलफल गरेका छन्।जिल्ला प्रशासन कार्यालय बारामा आयोजित उक्त कार्यक्रममा जिल्लामा कार्यरत सञ्चारकर्मीहरूसँग सीडीओ मिश्रले विकास, प्रशासनिक सुधार, सीमा सुरक्षा, तस्करी नियन्त्रण र जनसेवा प्रवाहका विषयमा खुलेर संवाद गरेका थिए।
खुला सिमानासँग जोडिएको बारा जिल्लाको सुरक्षा संवेदनशीलताको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी मिश्रले चोरी, तस्करी, निकासी–पैठारी लगायत अवैध गतिविधिहरू रोक्नका लागि कडा कदम चालिने बताए। उनले जिल्ला प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनबीच समन्वय अभिवृद्धि गरेर सीमाक्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाए। सीडीओ मिश्रले गृह मन्त्रालयबाट प्राप्त ६२ बुँदे निर्देशनलाई बारा जिल्लामा प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए। उनका अनुसार ती बुँदाहरू सुशासन, सेवा प्रवाह, कानूनको शासन र नागरिकमैत्री प्रशासन सुदृढ पार्न लक्षित छन्।
उनले नयाँ पुस्ताको भावना बुझ्ने, युवाहरूको ऊर्जालाई विकास र राष्ट्रनिर्माणतर्फ मोड्ने नीति अवलम्बन गरिने पनि बताए।कार्यक्रममा बोल्दै मिश्रले औपचारिक कार्यक्रमहरूमा माला र सम्मानको प्रदर्शनभन्दा पनि कार्यक्षमता र परिणामको मूल्यांकन हुनुपर्ने धारणा राखे। कार्यक्रममा सञ्चारकर्मीहरुले जिल्लामा बढ्दै गएको चोरी–तस्करी, सीमाक्षेत्रका समस्या, प्रशासनिक सेवा लिँदा देखिने असहजता र जनगुनासोका विषयमा सुझाव राखेका थिए।पत्रकारहरूले जिल्लाका सेवाग्राहीहरूले सहज वातावरणमा सेवा पाउनुपर्ने, अनावश्यक झन्झट कम गर्नुपर्ने र नागरिकमैत्री प्रशासनिक प्रणाली विकास गर्न आग्रह गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदी , जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ, सशस्त्र प्रहरी बलका उपरीक्षक खुम बहादुर केसी राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला लगायतका सुरक्षा अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। सुरक्षा निकायका प्रमुखहरूले पनि आगामी दिनमा आपसी समन्वय, सूचना आदान–प्रदान र सहकार्यबाट जिल्लाको शान्ति–सुरक्षा सुदृढ पारिने विश्वास व्यक्त गरे। कार्यक्रमको अन्त्यमा सीडीओ मिश्रले पत्रकार र प्रशासनबीचको सहकार्य सुशासन र विकासका लागि अनिवार्य रहेको बताउँदै निरन्तर संवादका ढोका खुला रहने प्रतिवद्धता जनाए।

