जनप्रतिनिधिको भोट बैंक र करार कर्मचारी म्याद विवादले फतुवा विजयपुर नगरपालिका सेवा अवरुद्ध

पछिल्लाे समाचार

अखिलेश कुमार यादव मंसिर ०९ रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका स्थानीय तह गठन भएदेखि विवादको केन्द्रमा रहेको छ। जिल्लाको उतारी भेगमा अवस्थित यस नगरपालिकामा वर्षभर करिब ३ महिना तालाबन्दी हुने गरेको छ। कर्मचारीले तलब समयमा नपाउँदा र जनप्रतिनिधिहरूको मनमानी निर्णयका कारण कार्यालय बारम्बार बन्द हुने गरेको हो।

स्थानीय तहमा करार कर्मचारीहरूको म्याद थप नगर्ने निर्णयको विवाद यस पटक उत्कर्षमा पुगेको छ। नेपाल सरकारको निर्णयपछि फतुवा विजयपुर नगरपालिकाका करार कर्मचारीहरू धर्नामा बसेका छन्। यस घटनाले नगरपालिका मातहतका वडामा दैनिक सेवा कार्य ठप्प बनाएको छ।कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले पत्रकार सम्मेलनमार्फत विवादको स्थिति स्पष्ट गर्दै भनिन्, “नयाँ कार्यालय प्रमुख आएपछि मात्र दरबन्दी मिलान प्रक्रिया अघि बढ्नेछ। आवश्यक कर्मचारी मात्र पालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने छ। तर, प्रक्रिया सुरु हुनुअघि केही कर्मचारीहरूले अटेरी गर्दै धर्ना सुरु गरेका छन्।”

उनका अनुसार विद्युत् महसुल भुक्तानीका लागि नगरपालिका सरकारले २ करोड रुपैयाँ विनियोजन गरिसकेको थियो। तर, मन्त्रालयको नयाँ निर्देशनले वितरणमुखी कार्यक्रम सञ्चालनमा प्रतिबन्ध लगाएपछि समस्या उत्पन्न भएको हो। उनले थपिन्, “वडाअध्यक्षदेखि कार्यपालिका सदस्यसम्म एउटै धारणा बनेमा मात्र नगरबासीको सम्पूर्ण बक्यौता भुक्तानी गर्न तयार छु।”उता करार कर्मचारीहरूले म्याद थपको लिखित आश्वासन नआएसम्म धर्ना जारी राख्ने चेतावनी दिएका छन्। नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रक्रिया ठप्प भएको र कार्यवाहक नगरप्रमुखले कार्यालय सञ्चालनमा चुनौती भोग्नुपरेको छ। यसकारण वडाको सेवाग्राहीहरू दैनिक काममा अलपत्र रहेका छन्।

फतुवा विजयपुर नगरपालिकामा विवादको मूल कारण जनप्रतिनिधि र कर्मचारीबीचको द्वन्द्व हो। कर्मचारीले तलब नपाएपछि धर्ना बसेको र केही जनप्रतिनिधिहरूले आफ्नो भोट बैंक सुरक्षित गर्न कर्मचारीलाई धर्नामा उभ्याएको आरोप बाहिर आएको छ। नगरपालिकाका केही जनप्रतिनिधिहरूको दोहोरो चरित्र पनि समस्या बढाएको छ। नगरप्रमुख गोपाल यादव, जो नेपाली कांग्रेसबाट निर्वाचित भए, गीति बालुवा र खोला ठेक्का प्रकरणमा अख्तियारमा उजुरी परेपछि निलम्बनमा परेका थिए। उनको निलम्बनको बाबजुद पनि नगरपालिका वेबसाइटमा अझै उनको नाम फोटोसहित प्रमुख पदको रूपमा राखिएको छ। निलम्बनपछि कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले जिम्मेवारी सम्हाल्दा पटक–पटक विवादमा तानिइन्।

तालाबन्दीको अर्को कारण विद्युत् महसुल भुक्तानीको विवाद पनि रहेको छ। कर्मचारी र जनप्रतिनिधिहरूबीच करार कर्मचारीको म्याद ठप्प गर्ने वा नगर्ने विषयमा सहमति नहुँदा वडा सेवाहरू प्रभावित भएका छन्। कर्मचारीहरू लिखित आश्वासन नआएसम्म तालाबन्दी खोल्न अडानमा छन्। स्थानीय विद्यार्थीहरू, जो लामो समयदेखि लोकसेवा तयारीमा छन्, पनि करार कर्मचारीको म्याद ठप्प भए नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन्। स्थानीय गौतम यादवले भने, “जनप्रतिनिधिहरू भोट बैंकका लागि कर्मचारीलाई प्रयोग गरिरहेका छन्। हाम्रो भविष्य अन्धकारमा परेको छ।”

यसरी फतुवा विजयपुर नगरपालिका करार कर्मचारी विवाद, जनप्रतिनिधि–कर्मचारी द्वन्द्व, तलब–भुक्तानी विवाद र विद्युत महसुल विवादको जटिल परिस्थितिमा बन्द–खुलको अवस्था निरन्तर जारी छ। जनप्रतिनिधि, कर्मचारी र कार्यवाहक प्रमुखबीचको वार्ता अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन। स्थानीयवासीले दुवै पक्षलाई छिटो समाधान खोज्न आग्रह गरिरहेका छन्।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय