मंसिर २० कलैया : बाराको पचरौता नगरपालिकाले शिक्षा क्षेत्रसँगै पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै विकासको गतिमा तीव्रता ल्याएको छ। सोही क्रममा वडा नम्बर ४ स्थित बेलदारी टोलमा सडक ढलान तथा नाला निर्माण कार्यको शिलान्यास गरिएको छ। शनिबार आयोजित कार्यक्रममा पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंहले करिब १ करोड ६६ लाख रुपैयाँ लागतको सडक ढलान र नाला निर्माण योजनाको औपचारिक शिलान्यास गरे। बेलदारी गाउँभरी नै वर्षौंदेखि बिग्रिएको सडक बान्की तथा वर्षामा पानी जमेर हिलो हुने समस्या कायम रहेकाले जनताले लामो समयदेखि माग गर्दै आएका पूर्वाधारमध्ये यो योजना प्राथमिकताका साथ अघि बढाइएको नगरप्रमुख सिंहले बताए।

उनका अनुसार, वर्षाको समयमा सामान्य पानी परे पनि सडक हिलोमै परिणत हुने र स्थानीयवासीको आवतजावत निकै कठिन हुने गरेको गुनासो नगरपालिका हुँदै आएको थियो। “जनताले दैनिक भोगिरहेको समस्यालाई समाधान गर्न हमीले तत्कालीन आवश्यकताको आधारमा एकै दिनमा १ करोड ६६ लाखको निर्माण कार्यको शिलान्यास गरेर काम अघि बढाएका हौँ,” नगरप्रमुख सिंहले भने। नगरपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई समान रूपमा अगाडि बढाइरहेको र पचरौतामा समग्र सेवाको पहुँच सुधार गर्दै विकासको गति तीव्र बनाउने लक्ष्य रहेको पनि उनले स्पष्ट पारे।

सडक ढलान तथा नाला निर्माण सम्पन्न भएपछि स्थानीयवासीले सहज रूपले आवतजावत गर्न पाउने र बेलदारी क्षेत्रको समग्र जीवनस्तरमा सुधार आउने अपेक्षा नगरपालिकाले गरेको छ।स्थानीयहरूका अनुसार, बाटो बिग्रँदा विद्यालय जाने विद्यार्थी, बिरामी बोकेर अस्पताल लैजानुपर्ने अवस्था वा दैनिक कामकाज सबैजसो प्रभावित हुँदै आएको थियो। “अब सडक बनेपछि यहाँका बासिन्दाले राहतका साथ आवतजावत गर्न सक्नेछौं,” एक स्थानीयवासीले प्रतिक्रिया दिएका छन्।नगरपालिकाले आगामी दिनमा पनि पचरौताका अन्य वडामा आवश्यक पूर्वाधार निर्माणलाई निरन्तरता दिने जनाएको छ।

