बारामा एआईसम्बन्धी एक दिने पत्रकारिता तालिम सम्पन्न

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।मंसिर २१ कलैया : बारामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। आमसञ्चार प्राधिकरण जनकपुरधामको आयोजना तथा नेपाल पत्रकार महासंघ बारा शाखाको समन्वयमा तालिम आइतबार कोल्हवीस्थित होटल रोजहूड प्यालेसमा सम्पन्न भएको हो। कार्यक्रम आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्काको अध्यक्षता र माननीय त्रीलोकी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि चौधरीले पत्रकारितामा सूचना सत्य वा असत्य दुवैको ठूलो प्रभाव रहने उल्लेख गर्दै समाचार लेख्नु अघि विषय, सन्दर्भ र सामाजिक प्रभावबारे गम्भीरतापूर्वक विचार गर्नुपर्नेमा जोड दिए। उनले गलत कामलाई गलतकै रूपमा प्रस्तुत गर्न तथा ढाकछोप गर्ने शैलीबाट टाढा रहन पत्रकारलाई आग्रह गरे।

अध्यक्ष खड्काले एआई प्रविधिको तीव्र विकाससँगै यसको सही प्रयोगबारे जानकरी अपरिहार्य भएको बताए। यसै उद्देश्यअनुरूप मधेश प्रदेशका आठै जिल्लामा एआईसम्बन्धी एक दिने तालिम सञ्चालन गरिएको र प्रदेश सरकारले पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रम निरन्तर जारी राख्ने जानकारी उनले दिए। स्रोतसाधनले भ्याएसम्म प्रदेशको पत्रकारितालाई ‘स्मार्ट’ बनाउन प्रतिबद्ध रहेको उनको भनाइ थियो।तालिमका प्रशिक्षक एआई अध्येता तथा अभ्यासकर्ता जीवन भण्डारीले एआईको सुरक्षित र जिम्मेवार प्रयोग, सञ्चार क्षेत्रमा यसको प्रभाव, अवसर, चुनौती तथा डिजिटल सुरक्षा उपायबारे विस्तृत प्रशिक्षण दिँदै एआईले सिर्जनात्मक समाचार लेखनमा मद्दत गरे पनि निरन्तर सम्पादन, तथ्यजाँच र मानव बुद्धिको प्रयोग अपरिहार्य रहेको उल्लेख गरे।

उनले अपूर्ण ज्ञानले स्मार्ट पत्रकारिता सम्भव नहुने भएकाले प्रविधि सम्बन्धी आधारभूत बुझाइ आवश्यक रहेको बताए।कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदीले एआई प्रविधिको सचेत प्रयोगले पत्रकारितामा ‘चमक र गमक’ थप्ने भएकाले नक्कल होइन, अक्कलसहित प्रयोग गर्नुपर्ने सुझाव दिए। एआईले गुणस्तरीय सामग्री निर्माणमा योगदान गरे पनि यसको दुरुपयोगबाट बच्नुपर्नेमा उनले जोड दिए।स्वागत मन्तव्य महासंघ बाराका उपाध्यक्ष पनालाल दासले राखेका थिए।तालिममा बारा जिल्लाका करिब चार दर्जन सक्रिय पत्रकार सहभागी थिए। सहभागीहरूले एआईसम्बन्धी ज्ञान, सामग्री उत्पादनमा यसको उपयोगिता तथा डिजिटल सुरक्षाबारे प्राप्त सिकाइ उपयोगी भएको प्रतिक्रिया दिएका छन्।कार्यक्रमको सहजीकरण आमसञ्चार प्राधिकरण जनकपुरधामको प्रशासकीय अधिकृत रन्जिता साहले गरेकी थिइन ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय