मंसिर २१ कलैया : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता यादवलाई मंसिर १९ गते सात दलका ७७ प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त गरिएको थियो। शपथ ग्रहण कार्यक्रममा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, विभिन्न मन्त्रालयका सचिव तथा गठबन्धनका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो। शपथ ग्रहण लगत्तै मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गर्दै सरकार सञ्चालनको प्रारम्भिक ढाँचा सार्वजनिक गरेका छन्।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) गरी तीन दलबाट मन्त्री नियुक्त गरेका छन्।जसमा जंगीलाल राय यादव विना विभागीय मन्त्री (नेपाली कांग्रेस) , कनिश पटेल विना विभागीय मन्त्री (नेकपा एकीकृत समाजवादी) , महेश प्रसाद यादव अर्थमन्त्री (जनमत पार्टी) जिम्मेवारी दीएको छ । तीनै मन्त्रीलाई पनि प्रदेश प्रमुख कर्णले पद तथा गोपनीयताको शपथ गराएका छन्। बाँकी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले मंसिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि टुंगो लगाइने बताएका छन्। शपथपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले तत्कालै अघिल्लो मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले गरेको सम्पूर्ण निर्णय बदर गर्ने निर्णय गरेको छ।
सरकारका अनुसार कात्तिक २३ देखि मंसिर २१ सम्मको अवधिमा बसेका मन्त्रिपरिषद्का बैठकहरूबाट गरिएका सबै सरुवा, काज, जिम्मेवारी हेरफेर, अतिरिक्त जिम्मेवारी तोकाइ तथा मन्त्रालय र मुख्यमन्त्री कार्यालयबाट जारी भएका कर्मचारी प्रशासनसम्बन्धी निर्णय पूर्ण रूपमा रद्द गरिएको पहिलो मन्त्रिपरिषदको बैठकमा निर्णय गरिएको छ । सरकारले सो अवधिमा नियुक्त, सरुवा वा काजमा परेका कर्मचारीसम्बन्धी सबै निर्णय अमान्य हुने जनाएको छ। सरकारले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरेलाई अर्को व्यवस्था नभएसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासनिक तथा आर्थिक अधिकारसहित निमित्त प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ। मुख्यमन्त्री यादवले आगामी मंसिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मतपछि मन्त्रिपरिषद् पूर्ण रूपमा गठन हुने उनको भनाइ छ।

