पुष ०५ सिमरा : युवा मञ्च सामाजिक संस्थाले जितपुरसिमरा उपमहानगरपालिका–०५ बकुलियास्थित अति विपन्न तथा घरबारविहीन चौवे परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरेको छ।
भरतपुर महानगरपालिका–१४ शिवनगर, चितवनस्थित युवा मञ्च सामाजिक संस्थाको सहकार्यमा निर्माण गरिएको उक्त घर संस्थाका मानार्थ सदस्य श्री पूर्ण बहादुर चौवन तथा उनकी धर्मपत्नी मनमाया चौवनका स्वर्गीय बुवा छत्र बहादुर चौवन, स्वर्गीय आमा नर माया (निमा) चौवन र स्वर्गीय दिदी नरमाया कार्कीको स्मृतिमा निर्माण गरिएको हो।

“जसको कोही छैन, उसको लागि हामी” भन्ने मूल नाराका साथ सामाजिक सेवामा सक्रिय संस्थाले आफ्नो १५९औँ कार्यक्रम अन्तर्गत उक्त घर निर्माण गरी हस्तान्तरण गरेको जनाएको छ।
कार्यक्रम युवा मञ्च सामाजिक संस्था शिवनगर, चितवनका अध्यक्ष तुलसी प्रसाद भट्टको अध्यक्षता तथा जितपुरसिमरा उपमहानगरपालिका–०५ का वडा सदस्य इन्दल पासवानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भट्टले २०७८ सालमा “जसको कोही छैन, उसको लागि हामी छौँ” भन्ने उद्देश्यसहित संस्था स्थापना गरिएको उल्लेख गर्दै संस्थाले निरन्तर रूपमा गरिब, असहाय तथा विपन्न परिवारको पीडामा मल्हम लगाउने कार्य गर्दै आएको बताए। उनले जेठ महिनामा चौवे परिवारको अवस्थाबारे जानकारी पाएपछि तत्काल सहयोग सुरु गरी घर निर्माण गरेर हस्तान्तरण गर्न पाउँदा संस्थाको टिम निकै उत्साहित भएको बताए। घर निर्माणमा करिब ६ लाख रुपैयाँ खर्च भएको जानकारी पनि उनले दिए।

प्रमुख अतिथि वडा सदस्य इन्दल पासवानले अति विपन्न परिवारको घर निर्माण गर्ने कार्य अत्यन्त पुण्यको काम भएको उल्लेख गर्दै यस्ता मानवीय कार्यमा संलग्न हुनेलाई भगवानले अमर बनाओस् भन्ने कामना व्यक्त गरे। टाढाबाट आएर जितपुरसिमरा–०५ का विपन्न परिवारलाई घर हस्तान्तरण गर्नु खुसीको विषय भएको बताउँदै आगामी दिनमा पनि संस्थाको सहयोग बकुलियावासीका लागि अपरिहार्य रहेको धारणा व्यक्त गरे।कार्यक्रममा वक्ताहरूले सामाजिक उत्तरदायित्व वहन गर्दै विपन्न समुदायको जीवनस्तर सुधारमा यस्ता कार्यहरू प्रेरणादायी हुने बताएका थिए।

युवा मञ्च सामाजिक संस्थाले आगामी दिनमा पनि यस्तै सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमका अवसरमा घर निर्माणमा सहयोग पुर्याउने जितपुरसिमरा उपमहानगरपालिका–११ का धरमेन्द्र महतो र संस्थाकी आजीवन सदस्य सरस्वती पाण्डेलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा संस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



