बकुलिया खानेपानी आयोजना ३ महिनामै ठप्प, स्थानीयमा पुनः निराशा

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । ०९ चैत ,सिमरा : बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–५ स्थित बकुलिया खानेपानी आयोजना तीन दशकपछि पुनः सुरु भएको तीन महिना नबित्दै फेरि रोकिएको छ। २०५४ सालमा सुरु भएर लामो समयदेखि अलपत्र रहेको योजना पुनः सञ्चालनमा आउने आशा जागेको भए पनि काम ठप्प भएपछि स्थानीयमा निराशा छाएको छ। तत्कालीन भवानीपुर–जितपुर गाविस अन्तर्गत १० लाख लागतबाट सुरु गरिएको आयोजनामा पानी ट्याङ्की, कार्यालय भवन र पम्प हाउस निर्माण भए पनि पाइप बिछ्याउने र उपभोक्ता समिति गठनको विवादका कारण योजना बीचमै रोकिएको थियो।

२०८२ मंसिर २२ गतेदेखि पुनः सुरु गरिएको आयोजना २ करोड ५७ लाख रुपैयाँ लागतमा पिआर थापा ब्रदर्स जेभीले ठेक्का लिएको थियो। तर काम सुरु भएको छोटो समयमै निर्माण रोकिएपछि २७ वर्षदेखि सुरक्षित खानेपानीको प्रतीक्षामा रहेका बकुलिया र जीतपुरका बासिन्दा फेरि निराश बनेका छन्।स्थानीय बैधनाथ थारुका अनुसार आयोजना सञ्चालनमा नआउँदा बासिन्दा अझै आर्सेनिकयुक्त पानी पिउन बाध्य छन्, जसले विभिन्न रोग निम्त्याइरहेको छ। यस्तै, बकुलिया खानेपानी आयोजनाका अध्यक्ष हरेराम विश्वकर्माले समयमै काम सम्पन्न भए वडा नम्बर ५ र ७ का करिब दुई हजार घरधुरी लाभान्वित हुने बताए। उनले आयोजना छिटो सम्पन्न गर्न पटक–पटक उपमहानगरपालिकामा दबाब दिँदै आएको पनि जानकारी दिए। वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र चौधरीले उपमहानगरपालिकाले ठेकेदार कम्पनीलाई समयमै भुक्तानी नगर्दा निर्माण कार्य रोकिएको दाबी गरे।

उपमहानगरपालिकाका इन्जिनियर अभयकान्त झाले भने पहिलो चरणमा १० लाख रुपैयाँ पेश्की दिइएको तर थप पेश्की दिन बजेट अभाव भएपछि काम रोकिएको बताए। उनका अनुसार २–३ दिनभित्रै काम पुनः सुरु गर्ने तयारी भइरहेको छ। उपमहानगरपालिकाले स्रोत नै सुनिश्चित नगरी हतारमा ठेक्का दिने र पछि भुक्तानी अभावमा काम रोकिँदा स्थानीयवासी पटक–पटक निराश हुन बाध्य भएका छन्। यस्ता गतिविधिले विकासको दिगो योजना भन्दा पनि केवल आश्वासन बाँड्ने प्रवृत्ति हावी भएको देखिन्छ। समयमै काम सम्पन्न नहुँदा स्थानीयलाई वास्तविक सुविधा भन्दा “ललिपप” जस्तै आशा देखाउने काम मात्रै भइरहेको भन्दै बासिन्दाले असन्तुष्टि जनाएका छन्।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय