१० चैत सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १५ डुमरवानामा भएको सवारी दुर्घटनामा एक जना पूर्व शिक्षकको ज्यान गएको छ। मृत्यु हुनेमा रौतहटको संग्रामपुर स्थायी घर भई हाल जीतपुरसिमरा–२ मा बसोबास गर्दै आएका ६१ वर्षीय केदारप्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बारा प्रहरीका अनुसार, शर्मा आफ्नै मोटरसाइकल (प्र.०२–०३–००७ प २३४१) चलाएर डुमरवानाबाट बडहर्वातर्फ जाँदै गर्दा सोही दिशाबाट आइरहेको ट्याक्टर (ना७त ५२२६) ले ठक्कर दिएको थियो। ठक्करपछि उनको मोटरसाइकल नियन्त्रण बाहिर गई विपरीत दिशाबाट आउँदै गरेको अर्को ट्याक्टर (प्र.०२–०३–००१ त ५६१५) मा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी अस्पताल लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेश भट्टले जानकारी दिएका छन्। शर्मा लामो समयदेखि शिक्षण पेशामा संलग्न रहँदै आएका अनुभवी शिक्षक थिए। स्थानीयवासीले उक्त सडकखण्डमा सवारी साधनको बढ्दो चाप, तीव्र गति र ट्राफिक व्यवस्थापनको कमीका कारण दुर्घटना बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले सडक सुरक्षामा ध्यान दिन र यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

