१० चैत, सिमरा : उपभोक्ता सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. र जनहित उपभोक्ता समिति सिमराको संयुक्त आयोजनामा सहकारी शिक्षा तथा उपभोक्ता संरक्षण सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। मंगलबारभिमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको हलमा आयोजित कार्यक्रम शिक्षा उपसमितिकी संयोजक निरु बजगाई अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। प्रशिक्षण सत्रमा जनहित उपभोक्ता समिति सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठ र जनकल्याण साकोसका अध्यक्ष मधुसूदन सिटौलाले सहकारीको सिद्धान्त, सदस्यहरूको अधिकार र दायित्व, बचत तथा ऋणको सही व्यवस्थापन, उपभोक्ता हक–अधिकार र संरक्षणका विषयमा विस्तृत जानकारी दिएका थिए।
उनीहरूले सहकारी संस्थामा पारदर्शिता, उत्तरदायित्व र सदस्यको सक्रिय सहभागिता बिना दिगो विकास सम्भव नहुने बताएका थिए। साथै उपभोक्ता सचेतना अभिवृद्धि गर्दै ठगी, गलत कारोबार तथा अनियमितता विरुद्ध सचेत रहन सहभागीहरूलाई आग्रह गरिएको थियो। कार्यक्रममा सहभागीहरूले प्रशिक्षण उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिँदै आगामी दिनमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए।कार्यक्रममा जनकल्याण साकोसका अध्यक्ष मधुसूदन सिटौला, जनहित उपभोक्ता समिति सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठ, राधाकृष्ण वनका सत्यबहादुर श्रेष्ठ, भिमेश्वर मध्यवर्ती सामुदायिक वन समूहका अध्यक्ष सुमन थापा मगर, चोरी शिकार नियन्त्रण युवा जागरणका सालिक रेग्मी लगायतको उपस्थिति रहेको थियो। साथै विभिन्न बचत समूहका अध्यक्ष, उपाध्यक्ष र सचिवहरूको समेत सहभागिता रहेको थियो।कार्यक्रमको स्वागत मन्तव्य फजलेहक अन्सारीले राख्नुभएको थियो भने सञ्चालन जनकल्याण साकोसका सचिव रबिन्द्र खकुरेलले गर्नुभएको थियो।

