जीतपुरको पहिचान बोकेको राँगा बजार अव्यवस्थित, व्यवसायी दैनिक सास्तीमा

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । ११ चैत । सिमरा : बाराको जीतपुरको पहिचानसँग जोडिएको राँगा बजार वर्षौंदेखि अव्यवस्थित हुँदा व्यवसायीहरू कष्टकर अवस्थामै व्यापार गर्न बाध्य भएका छन्। जीतपुरसिमरा उपमहानगरपालिका–७ मा रहेको उक्त बजारमा सामान्य पूर्वाधारको अभावले समस्या झन् जटिल बन्दै गएको हो। खुल्ला आकाशमुनी सञ्चालन हुँदै आएको बजारमा वर्षात् हुँदा हिलो र गर्मीयाममा चर्को घाम सहँदै व्यवसायीहरूले रागा तथा भैंसी किनबेच गर्नुपरेको छ। सामान्य पानी पर्दा पनि बजार क्षेत्र दलदलमा परिणत हुने गरेको व्यवसायी साजिद खान बताउँछन्।

व्यवसायीका अनुसार हप्ताको प्रत्येक सोमबार र शुक्रबार लाग्ने बजारमा आधारभूत सुविधासमेत उपलब्ध छैन। “न त खानेपानीको व्यवस्था छ, न त शौचालय नै,” व्यवसायी साबिर हुसेन भन्छन्, “हामीले प्रत्येक राँगा बेच्दा १७० रुपैयाँ तिर्नुपर्छ, तर सुविधा भने केही छैन।” जग्गाको अभाव अर्को ठूलो समस्या बनेको छ। सीमित क्षेत्रफलमा बजार सञ्चालन भइरहेका बेला बाँकी खाली जग्गासमेत अतिक्रमण हुँदै जाँदा भीडभाड बढेको छ। यसले बजारलाई झन् अव्यवस्थित मात्र होइन, दुर्गन्धित बनाउँदै लगेको व्यवसायीहरूको गुनासो छ। त्यसैगरी, पशु स्वास्थ्य परीक्षण, छायाँको व्यवस्था, सुरक्षित बाँध्ने स्थान, फोहोर व्यवस्थापनजस्ता आधारभूत पक्षको पूर्ण अभावले बजार सञ्चालन झन् चुनौतीपूर्ण बनेको छ।

गर्मीमा पशुहरू बिरामी पर्ने, वर्षामा लडेर घाइते हुनेजस्ता समस्या पनि बढ्दै गएको व्यवसायीहरू बताउँछन्। यसैबीच, बजारको ठेक्का वीरगञ्ज महानगरपालिका–१७ मा रहेको समिर ट्रेडर्सले वार्षिक १२ लाख रुपैयाँमा लिएको जीतपुरसिमरा उपमहानगरपालिकाको राजश्व शाखा प्रमुख राम शर्मा पौडेलले जानकारी दिए। उपमहानगरपालिकाले हरेक वर्ष १२ लाख रुपैयाँमा ठेक्का लगाउँदै आए पनि न त उपमहानगरले बजार व्यवस्थित गर्न सकेको छ, न त ठेकेदार कम्पनीले नै कुनै प्रभावकारी व्यवस्थापन गर्न सकेको देखिन्छ। उद्योग र आन्तरिक स्रोतका हिसाबले समृद्ध मानिएको उपमहानगरपालिकाले बजार व्यवस्थापनमा चासो नदेखाएको भन्दै व्यवसायीहरू आक्रोशित छन्। जनताको अमूल्य मतबाट निर्वाचित जनप्रतिनिधिहरू नै जनताको करबाट सुविधा उपभोग गर्दै ठूला सोफा र एसीको कोठामा सीमित हुँदा वास्तविक समस्या बुझ्न नसकेको आरोप उनीहरूको छ।

यस्तो उदासीनताका कारण व्यवसायी मात्र होइन, आम नागरिकले समेत सास्ती खेप्नु परेको उनीहरूको भनाइ छ। स्थानीयका अनुसार जनप्रतिनिधिहरू जनताको दैनिक समस्याभन्दा टाढा बस्दा यस्ता पुराना र महत्त्वपूर्ण बजारहरू उपेक्षित बनेका छन्। जीतपुरको पहिचान नै बनेको यो रागा बजार व्यवस्थित नहुँदा व्यवसायी मात्र होइन, उपभोक्तासमेत प्रभावित भइरहेका छन्। व्यवसायीहरूले अब ढिलाइ नगरी व्यवस्थित बजार, सुरक्षित संरचना र आधारभूत सुविधा उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय