हुलास स्टील र गणपतिलाई जरिवाना बुझाउन उपमहानगरको अन्तिम चेतावनी

पछिल्लाे समाचार

साउन ०५ सिमरा । वातावरण प्रदूषण गरेको आरोपमा जीतपुरसिमरा उपमहानगरपालिकाले कारबाही गरेका तीन उद्योगमध्ये नन्दन घिउ एण्ड आयल इन्डष्ट्रिजले मात्रै तोकिएको जरिवाना बुझाएको छ। जीतपुरसिमरा–३ स्थित नन्दन घिउ एण्ड आयल इन्डष्ट्रिजले दुई लाख ५० हजार रुपैयाँ जरिवाना उपमहानगरपालिकाको राजस्व खातामा दाखिला गरेको वातावरण शाखा प्रमुख इन्जिनियर पुष्पा सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार हुलास स्टील इन्डष्ट्रिज र गणपति वनस्पति लिमिटेडले हालसम्म जरिवाना नबुझाएकाले दुवै उद्योगलाई पुनः तीन दिनभित्र जरिवाना बुझाउन ताकेता पत्र पठाइएको छ। तोकिएको अवधिभित्र पनि जरिवाना नबुझाए कानुनबमोजिम थप कारबाही गरिने उहाँले बताउनुभयो।

उहाँका अनुसार उपमहानगरपालिकाको असार २५ गतेको निर्णयअनुसार तीन उद्योगलाई जरिवाना गर्ने निर्णय गरिएको थियो भने असार २९ गते सम्बन्धित उद्योगहरूलाई जरिवानाको पत्र पठाइएको थियो। वातावरणीय अनुगमन समितिको प्रतिवेदन, नगर प्रहरीको प्रतिवेदन र वातावरणीय कारबाही सिफारिसका आधारमा हुलास स्टीललाई पाँच लाख रुपैयाँ तथा नन्दन घिउ एण्ड आयल इन्डष्ट्रिज र गणपति वनस्पति लिमिटेडलाई जनही दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको उपमहानगरपालिकाले जनाएको छ। अनुगमनका क्रममा उद्योगहरूले जथाभावी फोहोर, तेलजन्य पदार्थ र लेदो व्यवस्थापन नगरेको, फोहोर पानीको उचित व्यवस्थापन नगरेको, कार्यस्थलमा सुरक्षा मापदण्ड पालना नगरेको तथा स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन र प्रचलित कानुनको उल्लङ्घन गरेको पाइएको उपमहानगरपालिकाको भनाइ छ।

वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ अनुसार स्पष्टीकरण माग्दा चित्तबुझ्दो जवाफ नआएपछि जरिवाना गरिएको हो। यता हुलास स्टीलले भने आफूले प्रदूषण नगरेको दाबी गर्दै जरिवानाको आधार र प्रमाण उपलब्ध गराउन उपमहानगरपालिकासँग माग गरेको छ। गणपति वनस्पति लिमिटेड पनि हालसम्म सम्पर्कमा नआएको जनाइएको छ।उपमहानगरपालिकाले वातावरण प्रदूषण नियन्त्रणमा बेवास्ता गर्ने र तोकिएको जरिवाना नतिर्ने उद्योगहरूलाई कानुनअनुसार थप कारबाहीको दायरामा ल्याइने जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय