सिमरा पौष २५ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न १५ अन्तर्गत सडक अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउन जीतपुरसिमरा उपमहानगरपालिकाले डोजर चलाउन सुरु गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले पटक पटक सूचना प्रशारण गर्दै स्थानीयलाई सडकको मापदण्ड ३० मिटर भित्र पर्ने संरचना हटाउन आग्रह गरेको थियो। नगरको आग्रह अटेरी गरेर संरचना नहटाउनेविरुद्ध डोजर चलाउनु परेको उपमहानगरका नगरप्रमुख राजन पौडेलले बताउनुभयो।
जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय र वडा न १५ को कार्यालयले तीन पटक सुचना निकालेर बाटो अतिक्रमण गरेर बनाईएको घर र टहरा हटाउन वडा बासी संग अनुरोध गरेको तर स्थानियहरुले उक्त आदेशको पालना नगरे पछि बिहिवार डोजर लगाएर उक्त घर र टहरा हटाईएको जीतपुरसिमरा उपमहानगरपालिका १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेले बताउनु भयो ।बाटो अतिक्रमण गरेर बनाईएको घर र टहरा हटे पछि अब दुई तर्फी नाला र स्वच्छ खानेपानीको पाईप जडान गर्नको लागि टेण्डर आव्हान भईसकेको वडाध्यक्ष लामिछानेले बताउनु भयो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुखमा निर्वाचित भए देखि नै नगरप्रमुख राजन पौडेलले गरेको प्रतिबद्धता अनुसार उपमहानगर भित्र सार्वजनिक जग्गा या बाटो अतिक्रमण गरेर बनाईएको घर टहरा भत्काउनु र उक्त जग्गा उपमहानगर मातहत ल्याउने प्रतिबद्धतामा नगरप्रमुख अडिग भएर काम गरिरहेको स्थानीयहरुले बताएको छ।डुमरवाना देखि पोता जाने बाटोमा दुईतर्फी रुपमा नाला निर्माण गर्नु भएकोले उक्त बाटोमा रहेको घर र टहरा उपमहानगरले डोजर लगाएर भत्कयाएको छ।
उपमहानगरले यो भन्दा पहिला जीतपुर गौशाला ,फत्तेपुर बजारमा बनाईको घर टहरा र सिमरा स्थित बजारमा समेत बनाईएको संरक्षणा माथी डोजर चलाएर उपमहानगरको स्वामित्वमा ल्याएको उपमहानगरले जनाएको छ।उपमहानगरको टोलि डोजर लिएर घर र टहरा भत्काउन पुग्दा केही स्थानियहरुले आफै आफ्नो घर र टहरा हटाएको वडा कार्यालयले जनाएको छ।