पुष १३ सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयले ज्योति विकास बैंक सिमरा शाखाबाट १६ थान बेन्च सहयोग प्राप्त गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।
बेन्च हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नम्बर ३ का कार्यबाहक वडा अध्यक्ष माया विकको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ज्योति विकास बैंक सिमरा शाखाका प्रमुख भरत आचार्य, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्ण खनाल, समाजसेवी जयकिशोर राउत, रामप्रसाद पौडेल, राजेन्द्र सुवेदी, कुमार सुवेदी लगायत स्थानीय व्यक्तित्व तथा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । साथै शिक्षक–अभिभावक संघका प्रतिनिधि, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले बैंकबाट प्राप्त सहयोगले विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक वातावरण सुधार गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्दै ज्योति विकास बैंकप्रति आभार प्रकट गरे ।
विद्यालयका प्रधानाध्यापक दिनेश पराजुलीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उहाँले विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सहयोग गरेको भन्दै यस किसिमको सहकार्यले सामुदायिक विद्यालयको गुणस्तर उकास्न मद्दत पुग्ने बताउनुभयो ।
ज्योति विकास बैंकले यसअघि पनि सिमरा आसपासका क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित विविध कार्यक्रममार्फत सहयोग गर्दै आएको छ । बैंकको यो पहलले निजी क्षेत्र र समुदायबीच सहकार्यको राम्रो उदाहरण प्रस्तुत गरेको स्थानीयवासीहरूको भनाइ छ ।

