फागुन ०९ सिमरा : राष्ट्रिय विभूति एलुम्नाइ (एसईई ब्याच–२०७३) को आयोजनामा तथा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन को सहकार्यमा दोश्रो ‘राजु महतो स्मृति मिनी म्याराथन २०८२’ शनिवार सम्पन्न भएको छ। ५ किलोमिटर दूरीमा आयोजित प्रतियोगितामा छात्र तथा छात्रा गरी करिब एक सय खेलाडी सहभागी भएका थिए।
छात्रतर्फ राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन, डुमरवानाका साहिल चौधरी प्रथम, दिपेश ठाकुर द्वितीय तथा सिद्धार्थ चौधरी तृतीय भए। छात्रातर्फ औसका चौधरी प्रथम, सन्जाना चौधरी द्वितीय र करुना चौधरी तृतीय स्थान हासिल गर्न सफल भए।

प्रतियोगिता समापनपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रथम हुनेलाई रु ५ हजार, द्वितीयलाई रु ३ हजार र तृतीयलाई रु २ हजार नगद प्रदान गरिएको आयोजकले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर कुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वर्गीय राजु महतोका अभिभावक रामावतार महतो र कमलीदेवी महतो विशेष अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले विजयी खेलाडीहरूलाई पुरस्कार प्रदान गर्दै युवालाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए। उनले स्थानीय तहबाट खेलकुद गतिविधिलाई प्राथमिकतामा राखिने उल्लेख गरे।
एलुम्नाइ समूहले स्वर्गीय राजु महतोको स्मृतिमा सुरु गरिएको म्याराथनलाई आगामी वर्षहरूमा निरन्तरता दिने जनाएको छ।

