फागुन ३० सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका ले आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। शनिबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा को प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागी सेवाग्राही नागरिकहरूले नगरपालिकाबाट प्रवाह हुने सेवा, विकास निर्माण तथा व्यवस्थापनका विभिन्न विषयमा प्रश्न र जिज्ञासा राख्दै गुनासो समेत व्यक्त गरेका थिए। नागरिकहरूले शिक्षामा पर्याप्त लगानी भए पनि त्यसअनुसारको प्रतिफल प्राप्त नभएको गुनासो गरेका छन्।
सामुदायिक विद्यालयमा विभिन्न बहानामा शुल्क असुल्दा विद्यार्थीलाई पढाइ निरन्तरता दिन कठिन भएको भन्दै यस्तो शुल्क नलिन सुझाव दिएका थिए। गुणस्तरीय शिक्षाको अभावका कारण विद्यार्थीहरू बाहिर जानुपर्ने बाध्यता रहेको भन्दै त्यसको अन्त्य गर्न आग्रह गरिएको थियो। यस्तै स्वास्थ्य सेवा सबै नागरिकसम्म प्रभावकारी रूपमा पुग्न नसकेको, कृषि र पशु शाखाको सेवा गाउँ केन्द्रित हुनुपर्नेमा बजार केन्द्रित हुँदा किसानहरू समस्यामा परेको गुनासो समेत उठाइएको थियो। किसानको घरमै पुगेर समस्या सुन्ने व्यवस्था गर्नुपर्ने माग सहभागीहरूले गरेका थिए। नगरभित्र फोहोर व्यवस्थापनमा पर्याप्त ध्यान नदिएको, अव्यवस्थित तार व्यवस्थापनका कारण जोखिम बढेको तथा केही सडक समयमै निर्माण नहुँदा दुर्घटनाको सम्भावना बढिरहेको विषय पनि कार्यक्रममा उठाइएको थियो। सिमरा–पथलैया सडक क्षेत्रको सौन्दर्यकरणका लागि वृक्षारोपण गर्नुपर्ने सुझाव समेत नागरिकहरूले दिएका थिए।
सार्वजनिक स्थानहरूमा घुम्ती शौचालय राख्नुपर्ने, योजनाहरू पहुँचका आधारमा नभई पारदर्शी ढंगले बनाउनुपर्ने तथा नगरपालिकाको भवन नजिक निर्माणाधीन चमेना गृह, सभाकक्ष र प्रशासनिक भवनको काम ठेक्का लागेपछि पनि पूरा नभएको विषयमा समेत प्रश्न उठाइएको थियो। कार्यक्रममा खेलकुद क्षेत्रमा समेत पारदर्शिता आवश्यक रहेको भन्दै कराते प्रशिक्षक सानु बाबु कुर्मीले खेलकुदको नाममा कमिसनका आधारमा लाखौं रुपैयाँ खर्च गरिएको आरोप लगाएका थिए। त्यस्तै ब्राइटर एकेडेमीका विद्यार्थी उत्सव झाले विद्यार्थीका लागि छात्रवृत्ति व्यवस्थापन गर्नुपर्ने माग राखेका थिए। कार्यक्रममा उठेका प्रश्न र गुनासोप्रति प्रतिक्रिया दिँदै नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत डमबरु निरौला ले नागरिकका समस्या समाधान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताएका थिए। विगतका कमजोरीहरू सुधार्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सुशासनयुक्त नगरपालिका निर्माणका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाइएको थियो।

सार्वजनिक सुनुवाइका क्रममा चालु आर्थिक वर्षमा नगरपालिका तथा मातहतका सेवा प्रदायक निकायबाट प्रवाह गरिएका सेवा, कार्यक्रम तथा विभिन्न शाखाले हासिल गरेका उपलब्धिबारे पनि जानकारी गराइएको थियो। यद्यपि, सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही नागरिकको उपस्थिति अपेक्षाकृत न्यून देखिएको थियो भने जनप्रतिनिधिको उपस्थिति पनि कम रहेको स्थानीयले बताएका छन्। नागरिकको सक्रिय सहभागिता बिना सार्वजनिक सुनुवाइको उद्देश्य पूर्ण रूपमा सफल हुन नसक्ने भन्दै आगामी कार्यक्रमहरूमा व्यापक सहभागिता आवश्यक रहेको धारणा सहभागीहरूले व्यक्त गरेका छन्।

