असार ०८ सिमरा : बाराको पचरौता नगरपालिका ले आर्थिक वर्ष २०८३/०८४ का लागि ६१ करोड ४१ लाख ३१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। सोमबार सम्पन्न १६औँ नगरसभामा आगामी वर्षको नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरिएको हो। नगरप्रमुख जलान्धर सिंह को अध्यक्षतामा सम्पन्न सभामा कृषि, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी वर्षका कार्यक्रम अघि बढाइने जानकारी दिइएको छ। नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख सिंहले नागरिकको जीवनस्तर सुधार, दिगो विकास र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताए। उनले भने, “पचरौताको समृद्धिका लागि कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेका छौँ। नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम कार्यान्वयनमा सबै पक्षको सहकार्य आवश्यक छ।”

नगरप्रवक्ता लक्ष्मी यादव ले बजेट प्रस्तुत गर्दै नगरको समृद्धिका लागि उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरिने बताए। उनका अनुसार बजेटमा रोजगार सिर्जना, आधारभूत सेवा प्रवाहमा सुधार, महिला सशक्तिकरण तथा युवा लक्षित कार्यक्रम समेटिएका छन्। नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आयतर्फ विभिन्न स्रोतबाट बजेट व्यवस्थापन गर्ने योजना सार्वजनिक गरेको छ। जसअनुसार संघीय वित्तीय समानिकरण अनुदानबाट ११ करोड १५ लाख, संघीय सशर्त अनुदानबाट २१ करोड ८२ लाख, संघीय समपूरक अनुदानबाट ५५ लाख, संघीय विशेष अनुदानबाट १ करोड, संघीय राजश्व बाँडफाँडबाट १० करोड १८ लाख १० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी प्रदेश राजश्व बाँडफाँडबाट ५० लाख, प्रदेश वित्तीय समानिकरण अनुदानबाट ७६ लाख २१ हजार, प्रदेश सशर्त अनुदानबाट ९५ लाख, प्रदेश विशेष अनुदानबाट ३० लाख र प्रदेश समपूरक अनुदानबाट २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

यस्तै आन्तरिक आयबाट ५ करोड, स्थानीय राजश्व बाँडफाँडबाट ३ करोड तथा बैंक मौज्दातबाट ६ करोड रुपैयाँ समावेश गर्दै कुल ६१ करोड ४१ लाख ३१ हजार रुपैयाँको आय–व्यय प्रक्षेपण गरिएको नगरपालिकाले जनाएको छ। यस वर्षको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारसँगै सामाजिक सुरक्षा, सरसफाइ, खानेपानी, विपद् व्यवस्थापन तथा सुशासन प्रवर्द्धनका कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ। नगरसभाको अवसरमा नगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान समेत गरेको थियो। कार्यक्रमको अन्त्यमा नगरप्रमुख सिंहले नगरको विकास यात्रामा सहयोग पुर्याउने नागरिक, करदाता, विकास साझेदार तथा सरकारी–गैरसरकारी संस्थाप्रति आभार व्यक्त गर्दै बजेटको सफल कार्यान्वयनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए।नगरसभामा नगर उपप्रमुख नसिमा खातुन प्रमुख प्रशासकीय अधिकृत बसन्त राज जोशी लगाएत नगरसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।


