परवानीपुर गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न, ३६ करोड ६३ लाखभन्दा बढीको बजेट सार्वजनिक

पछिल्लाे समाचार

असार ०८ सिमरा : बाराको परवानीपुर गाउँपालिकाले १८ औँ गाउँसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँको बजेट तथा नीति–कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाले पूर्वाधार विकास, रोजगार, खानेपानी, कृषि, खेलकुद तथा सेवा प्रवाहलाई आगामी वर्षका प्रमुख प्राथमिकताका रूपमा अघि सारेको छ। गाउँपालिका उपाध्यक्ष सुगान्धी देवी कनुईनको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रामप्रसाद क्षत्री कुर्मीले विकासका कामलाई निरन्तरता दिँदै आगामी वर्ष नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएका योजना कार्यान्वयनमा जोड दिइने बताउनुभयो। गाउँसभामा चालु आर्थिक वर्षका उपलब्धि सार्वजनिक गर्दै गाउँपालिकाले विभिन्न कारणले रोकिएका सडक निर्माण कार्य सम्पन्न गरिएको, अधुरा नाला निर्माणलाई पूर्णता दिँदै ढल निकास व्यवस्थापन गरिएको तथा भित्री साँघुरा सडकलाई विस्तार गरी पहुँच सुधार गरिएको जनाएको छ।

त्यसैगरी खानेपानी व्यवस्थापनअन्तर्गत डिप बोरिङ जडान, निर्माणाधीन खानेपानी आयोजना सम्पन्न तथा सबै वडामा सडक पहुँच विस्तार गरिएको जानकारी दिइएको छ। गाउँपालिकाले प्रमुख राजमार्गसँग जोडिने सडक सञ्जाललाई थप सुदृढ बनाएको जनाएको छ। रोजगार सिर्जनाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई स्थानीय योजनासँग समन्वय गरी सञ्चालन गरिएको, युवालाई खेलकुदतर्फ आकर्षित गर्न सबै वडामा क्रिकेट प्रतियोगिता आयोजना गरिएको तथा हरित अभियानअन्तर्गत ५ हजार बिरुवा रोपण गरिएको गाउँसभामा उल्लेख गरिएको छ। यस्तै गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भई २०८२ साउनदेखि आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरिएको, साथै तालिम हल निर्माण कार्य पनि सम्पन्न भएको जानकारी दिइएको छ। आगामी वर्षका नीति तथा कार्यक्रममा खेलकुद पूर्वाधार विस्तार, खेल मैदान निर्माण तथा अध्यक्ष क्रिकेट प्रतियोगिता र वडा स्तरमा क्रिकेट प्रतियोगिता सञ्चालनलाई समेत प्राथमिकतामा राखिएको छ।

आर्थिक स्रोत व्यवस्थापनतर्फ संघीय तथा प्रदेश सरकारको वित्तीय समानिकरण अनुदानबाट १० करोड २० लाख ६८ हजार, संघीय सशर्त अनुदानबाट ११ करोड ६७ लाख, संघीय तथा प्रदेश समपूरक तथा विशेष अनुदानबाट २ करोड ८३ लाख, राजश्व बाँडफाँडबाट ८ करोड ६ लाख ४३ हजार, आन्तरिक स्रोतबाट ३ करोड ६५ लाख ९९ हजार तथा स्थानीय राजस्व बाँडफाँडबाट २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। गाउँपालिकाले प्रस्तुत बजेटलाई विकास, सेवा प्रवाह र नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित प्रभावकारी रूपमा कार्यान्वयन गरिने जनाएको छ।गाउँसभामा वडाध्यक्ष लगाएत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय