सिमरा वितरण केन्द्र द्वारा ११ महिनामा १० करोडभन्दा बढी महसुल संकलन

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।०९ सिमरा : नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सिमराले विद्युत चुहावट नियन्त्रण तथा बक्यौता महसुल असुली अभियानलाई प्रभावकारी बनाउँदै आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा उल्लेखनीय प्रगति हासिल गरेको छ । वितरण केन्द्र सिमराका प्रमुख इन्जिनियर माधव महतका अनुसार सो अवधिमा बक्यौता नतिर्ने १ हजार ३ सय ५९ जना ग्राहकको लाइन काटिएको छ । ती ग्राहकबाट ४ अरब ७३ करोड ५४ लाख २८ हजार ६२ रुपैयाँ उठ्नुपर्ने बक्यौता रकम रहेको थियो ।लाइन काटिएका ग्राहकमध्ये बक्यौता बुझाएका १ हजार ७७ जनाको पुनः लाइन जडान गरिएको छ ।

पुनः लाइन जडान भएका ग्राहकबाट हालसम्म १० करोड ३३ लाख ८६ हजार ५८ रुपैयाँ असुली भएको प्रमुख महतले जानकारी दिनुभयो । यसबाट अझै ठूलो परिमाणमा बक्यौता रकम उठ्न बाँकी रहेको देखिएको उहाँले बताउनुभयो । यस्तै, कालोसुचिमा परेका ३ जना ग्राहकबाट १७ लाख ४९ हजार ६ सय १६ रुपैयाँ पैसा असुली गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो। विद्युत चोरी तथा अनधिकृत प्रयोग नियन्त्रणका लागि सञ्चालन गरिएको चुहावट नियन्त्रण अभियानअन्तर्गत कारबाहीमा परेका १३ जनाबाट ९६ हजार ८ सय ३८ रुपैयाँ राजस्व संकलन भएको सिमरा वितरण केन्द्रले जनाएको छ । अवाज इन्जिनियर माधव महत प्रमुख महतका अनुसार विद्युत महसुल नतिर्ने र अनधिकृत रूपमा विद्युत प्रयोग गर्ने प्रवृत्ति नियन्त्रण गर्न वितरण केन्द्रले नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिएको बताउनुभयो।

उहाँले समयमै महसुल भुक्तानी गर्ने उपभोक्ताको हित संरक्षण गर्न तथा प्राधिकरणको राजस्व सुरक्षित राख्न अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले विद्युत चुहावट नियन्त्रणमा उपभोक्ताको सचेतना र सहयोग आवश्यक रहेको उल्लेख गर्दै नियमित महसुल भुक्तानी गर्न सबै उपभोक्तालाई आग्रह गर्नुभयो । वितरण केन्द्रले आगामी दिनमा पनि बक्यौता असुली, चुहावट नियन्त्रण तथा अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ । विद्युत सेवा व्यवस्थापनलाई पारदर्शी, उत्तरदायी र आर्थिक रूपमा सबल बनाउन सञ्चालन गरिएको अभियानबाट राजस्व संकलनमा सुधार आउनुका साथै विद्युत चोरी नियन्त्रणमा समेत सकारात्मक प्रभाव परेको वितरण केन्द्रको दाबी छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय