असार १० कलैया : कृषि र पूर्वाधार समृद्ध कलैयाको आधार” भन्ने मूल नारासहित कलैया उपमहानगरपालिकाको १७ औँ नगरसभा अधिवेशन आज सम्पन्न भएको छ। नगरसभामा नगरप्रमुख बिनोद साहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा रोजगारमुखी योजनालाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। उहाँले कलैयालाई आधुनिक, व्यवस्थित र आर्थिक रूपमा सबल नगरका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कंडेलले आगामी आर्थिक वर्षका लागि कुल १ अर्ब ७६ करोड ६३ लाख रुपैयाँभन्दा बढीको बजेट प्रस्ताव प्रस्तुत गर्नुभयो।
प्रस्तावित बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान, राजस्व बाँडफाँड, स्थानीय राजस्व तथा आन्तरिक आयलाई मुख्य स्रोतका रूपमा समेटिएको जनाइएको छ। खर्चतर्फ पूर्वाधार विकास, सडक, नाला, कृषि प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, युवा स्वरोजगार, महिला सशक्तीकरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। नगरसभामा सहभागी जनप्रतिनिधिहरूले बजेटलाई जनमुखी र विकास केन्द्रित रहेको प्रतिक्रिया दिएका छन्। नगरप्रमुख साहले बजेट कार्यान्वयनमा पारदर्शिता, जनसहभागिता र प्रभावकारितामा विशेष ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगरसभाले नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरी आवश्यक सुझावसहित आगामी प्रक्रियामा अघि बढाउने निर्णय गरेको जनाएको छ।

