अखिलेश कुमार यादव । असर ११ जीतपुर : जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको सपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको छ। जीतपुरस्थित संघको सभाहलमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा मुख्य निर्वाचन अधिकृत शरदचन्द्र भट्टराईले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो। त्यसपछि निवर्तमान अध्यक्ष मोहन शर्माले नवनिर्वाचित अध्यक्ष गजेन्द्र प्रसाद गुप्तालाई पदभार हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण सदस्यहरूले औपचारिक रूपमा आफ्नो जिम्मेवारी ग्रहण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष शर्माले विभिन्न संघसंस्था तथा सरोकारवालासँग समन्वय गर्दै संस्थालाई यहाँसम्म ल्याउन अनेक चुनौतीहरूको सामना गर्नुपरेको बताउनुभयो। वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा अवस्थित संघले उद्योगी तथा व्यवसायीको हितमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा संस्था अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो। नवनिर्वाचित अध्यक्ष गजेन्द्र प्रसाद गुप्ताले पदभार ग्रहणसँगै व्यवसायीहरूको हितलाई केन्द्रमा राखेर महत्वपूर्ण निर्णय सार्वजनिक गर्नुभयो। उहाँका अनुसार तेस्रो अधिवेशनका लागि सदस्यता नवीकरण गरेका ९ सय ५७ जना सदस्य व्यवसायीलाई प्रतिव्यक्ति १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराइनेछ। यसका लागि सम्बन्धित बीमा कम्पनीसँग सम्झौता भइसकेको र उक्त बीमा योजना असार १४ गतेदेखि लागू हुने जानकारी उहाँले दिनुभयो।

अध्यक्ष गुप्ताले साना तथा मझौला व्यवसायीहरू बैंक तथा वित्तीय संस्थाको कर्जा, बजारको मन्दी, घट्दो आर्थिक गतिविधि तथा लगानीको असुरक्षाजस्ता समस्याबाट प्रभावित भएको उल्लेख गर्दै सम्बन्धित निकायसँग समन्वय गरी यस्ता समस्याको समाधानका लागि सक्रिय पहल गरिने बताउनुभयो। व्यवसायीमैत्री वातावरण निर्माण, उद्योग प्रवर्द्धन तथा लगानी आकर्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। प्रमुख अतिथि अशोक टेमानीले नयाँ कार्यसमितिले पदभार ग्रहण गरेकै दिन व्यवसायीहरूको सुरक्षासँग जोडिएको दुर्घटना बीमा कार्यक्रम लागू गर्ने घोषणा गर्नु सकारात्मक र उदाहरणीय कदम भएको बताउनुभयो। प्रदेशकै महत्वपूर्ण औद्योगिक क्षेत्र रहेको जीतपुरसिमराका उद्योगी–व्यवसायीको हकहितका लागि आवश्यक सहयोग गर्न आफू सधैँ तयार रहेको उहाँले बताउनुभयो। साथै नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा निर्वाचन समितिलाई नवनिर्वाचित अध्यक्ष गुप्ताद्वारा प्रशंसापत्र प्रदान गरिएको थियो। उद्योगी, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा नयाँ नेतृत्वप्रति आशा र विश्वास व्यक्त गरिएको थियो। असार ७ गते सम्पन्न संघको तेस्रो अधिवेशनबाट अध्यक्षमा गजेन्द्र प्रसाद गुप्ता बरिष्ठ उपाध्यक्षमा शिवजी साह ,बाणिज्य उपाध्यक्षमा रामबाबु कलवार ,महासचिवमा प्रकाश गिरि लगाएत गजेन्द्र प्यानाल्कै उम्मेदवार नै सबै पदमा निर्वाचित भएको थियो । नयाँ कार्यसमितिले व्यवसायीहरूको हकहित संरक्षण, औद्योगिक विकास, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रका समस्याको समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।

