असार ११ जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिप्रामा जेष्ठ नागरिक तथा एकल महिला सम्मान कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालय परिसरमा बिहिवार आयोजित कार्यक्रममा वडास्तरीय बजेटमार्फत वडा भित्र रहेका जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गर्दै झुल र छाता वितरण गरिएको हो। पछिल्लो समय गर्मी बढेसँगै लामखुट्टेको प्रकोप समेत बढिरहेको र पैदल हिँडडुल गर्दा घाम तथा वर्षाबाट जोगिन सहज होस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको वडा अध्यक्ष मोतिलाल यादवले जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

त्यस्तै वडा सचिव सिद्धार्थ चौधरीले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको तह भएकाले जेष्ठ नागरिक र एकल महिलालाई सम्मान तथा सहयोग गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो। कार्यक्रममा सहभागी जेष्ठ नागरिकले वडा कार्यालयले आफूहरूको आवश्यकतालाई ध्यान दिएर सहयोग गरेको भन्दै खुसी व्यक्त गरेका थिए। उनीहरूले यस्ता कार्यक्रमले दैनिक जीवनमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्।

