असार ११ सिमरा । सूर्य नेपाल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत सञ्चालन गर्दै आएको “उज्यालो अभियान” मार्फत जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ लाई २ सय थान सडक बत्ती हस्तान्तरण गरेको छ ।बिहीबार आयोजित एक कार्यक्रमका बीच सूर्य नेपालका प्रतिनिधि यज्ञबहादुर आलेले वडा अध्यक्ष भोजबहादुर खत्रीलाई सडक बत्ती हस्तान्तरण गर्नुभएको हो । सडक बत्ती जडानपछि समुदायको सुरक्षा, सुविधा तथा समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने वडाध्यक्ष भोजबहादुर खत्रीले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले रातिको समयमा हुने चोरी, डकैती तथा अन्य अवाञ्छित गतिविधि न्यूनीकरण गर्न सडक बत्ती प्रभावकारी हुने बताउँदै नागरिकलाई सुरक्षित र सहज वातावरण उपलब्ध गराउन सहयोग पुग्ने उल्लेख गर्नुभयो ।त्यस्तै उहाँले स्थानीय तहको विकासमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको भन्दै सूर्य नेपालले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।
सूर्य नेपाल लिमिटेडले विगतदेखि नै आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाभित्र विभिन्न सामग्री तथा विकासमुखी कार्यक्रममार्फत सहयोग गर्दै आएको छ । कम्पनीको यस सहयोगले वडा नं. ४ का विभिन्न टोल तथा सडक क्षेत्रमा उज्यालो थपिने अपेक्षा गरिएको छ ।

