२५ पौष । काठमाडौं- जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी मागेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ उक्त आदेश दिने क्रममा ६५ लाख रुपैयाँ धरौटी मागेका हुन् ।
अदालतले मागेको धरौटी बुझाएमा रवि बिहीबार नै रिहा हुने छन् । तर काठमाडौं र चितवनसहितका जिल्लामा मुद्दा बाँकी रहेकाउले उनी फेरि समातिन सक्नेछन् । उनी गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेर कास्की प्रहरीको हिरासतमा थिए । रविविरूद्ध प्रहरीले सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग पनि लगाएको थियो ।