जीतपुर, बारा, असार १ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ को नवनिर्मित सुविधासम्पन्न वडा कार्यालय भवनको सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। एक विशेष समारोहका बीच उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन्। स्थानीय तहको निर्वाचनपछि गठन भएको करिब नौ वर्षपछि वडा नम्बर २३ ले आफ्नै प्रशासनिक भवन प्राप्त गरेको हो। यससँगै अब वडावासीले आफ्नै वडा कार्यालय भवनबाट सहज, व्यवस्थित र प्रभावकारी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख भोला प्रसाद अधिकारीले विगतमा विभिन्न व्यक्तिको भवन तथा अन्य संरचनामा आश्रित भएर वडा कार्यालय सञ्चालन गर्नुपरेको स्मरण गर्दै ढिलै भए पनि आफ्नै भवन निर्माण सम्पन्न हुनु खुसीको विषय भएको बताए। उनले हालसम्म उपमहानगरपालिकाभित्र १९ वटा वडा कार्यालय भवन उद्घाटन भइसकेको जानकारी दिँदै बाँकी रहेका वडा कार्यालय भवनहरूको निर्माण कार्य पनि तीव्र गतिमा अगाडि बढिरहेको बताए।
त्यसैगरी नगरप्रमुख राजन पौडेलले उपमहानगरपालिकाले नागरिकलाई वडा स्तरबाटै प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यका साथ पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए। उनले हालसम्म उपमहानगरभित्र वडा नम्बर १२ को कार्यालय मात्रै भाडाको भवनमा सञ्चालन भइरहेको उल्लेख गर्दै अधिकांश वडा कार्यालय भवनलाई व्यवस्थित र स्थायी बनाउने अभियान जारी रहेको जानकारी दिए। कार्यक्रममा बोल्दै वडा नम्बर २३ का वडाध्यक्ष मुस्ताकिम अन्सारीले विगतमा पुरानो तथा जीर्ण भवनबाट सेवा प्रवाह गर्दा वर्षायाममा छाना चुहिने लगायतका समस्या भोग्नुपरेको बताए। नयाँ भवन सञ्चालनमा आएपछि प्रशासनिक सेवा थप व्यवस्थित, छरितो र नागरिकमैत्री बन्ने विश्वास व्यक्त गरे। वडाध्यक्ष कैमुदिन अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव संगीता चौधरीले सहजीकरण गरेकी थिइन्। कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, जनप्रतिनिधि, वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो। स्थानीयवासीहरूले नयाँ वडा कार्यालय भवन सञ्चालनमा आएसँगै नागरिक सेवा प्रवाहमा गुणस्तरीय सुधार आउने तथा प्रशासनिक कामकाज थप सहज बन्ने विश्वास व्यक्त गरेका छन्। उद्घाटनपछि भवनको अवलोकनसमेत गरिएको थियो।

